चीज बर्गर

आमाको कोख भित्र त म मांशहारी थिएँ । आमाका कोषहरूमा संचित शक्तिकै कारण संभव भएको थियो मेरो संरचना । म जन्मिएको केही महिनामै हजुरबुवा वित्नु भएछ । हजुरबुवा बितेपछि एकजना बैष्णव महाराजजीले सम्पूर्ण परिवारमाथि बैष्णव मन्त्र छर्किदिनुभएछ । त्यसपछि शुरुभएको हो हाम्रो परिवारको शाकाहारी यात्रा । हजुरबुवाले मेरो सम्झना थोरै भएपनि लिएर जानुभयो । मैले लिन पाइन । सम्झिन सक्ने भएको भएपनि जन्मिएपछिको एक दुई महिनामा खुबै के गरियो होला र ! एक दुईचोटी हजुरबाको कछाड भिजाइयोहोला । हजुरबा पण्डित हुनुहुन्थ्यो । निकै सानो उमेरमा स्वर्गद्धारी पुगेर संस्कृत पढ्नुभएको । जिल्लामै चर्चित पण्डित । हजुरबा र हजुरआमा को एउटा ब्ल्याक एण्ड ह्वाइट फोटो भित्तामा थियो । कान्छा बा र ठूलोबुवाकोमा पनि त्यही फोटा झुण्डिएको थियो । कस्सो एउटा फोटो खिचेछन् । त्यतीखेरै थाहा भएको हो मलाई । फोटोको महत्व । कमसेकम मलाई हजुरबा कस्तो हुनुहुन्थ्यो भनेर घोरीनु परेन । जसरी म हजुरआमा र सम्पूर्ण परिवारका प्रिय कृष्ण भगवान बास्तवमै कस्ता थिए भनेर दिमाग घुमाइरहन्थेँ । एकचोटी हजुरआमालाई सोधेको पनि थिएँ । किन कसैले खिचेनन् होला कृष्ण भगवानको फोटा । खिचेका भएट सबै पोष्टरमा एउटै देखिन्थे होलान् । घरमा र गाउँमा हजुरबाका बारेमा सुनेका प्रसंगहरूलाई त्यही फोटो हेर्दे कल्पना गर्थें । हजुरबालाई हुक्का निकै मन पर्थ्र्यो रे । हजुरबाले सारा जिल्लाबासीलाई बेद, पुराण, भागवत सुनाएर जिन्दगी विताउनु भयो । हजुरबा त पक्कै स्वर्ग जानु भयो होला । नातीको ठेगान छैन । झुक्किएर स्वर्ग पुगेँ भने, हजुरबासँग म पनि परिचय गरम्ला । भनम्ला म कान्छो नाती । सोधम्ला त्यता हजुरबालाई मनपर्ने हुक्काको ब्यवस्था छ कि छैन । अनी बल्ल सुनाम्ला, मेरो चिज बर्गरको कथा ।

म २४ बर्षको उमेरसम्म अल्प शाकाहारी थिएँ । अल्प यस अर्थमा कि मैले नौ कक्षामा पढ्दा कुखुराको अण्डा चाखेँ । ब्वइल्ड एग । डम्बरबहादुर सरले कृषि पढानुहुन्थ्यो । दिउसो खाजा खाँदा उहाँलाई अण्डा र चनाको तरकारी बाहेक केही चाँहिदैनथ्यो । अण्डाप्रतिको मोह जगाउने काम शायद डम्बर सरले नै गर्नु भो । त्यसपछि गोकुल । उ हाम्रो ट्रली ट्रयाक्टरको ड्राइभर थियो । कुरो खुब मिल्थ्यो । पोखराको पुर्णिमा हलमा गोबिन्दा र करिश्मा कपुरको कुली नं १ पनि उसैले देखाएको थियो । घर पुगेपछि बहाना बनाउन खुब सिपालु थियो । सिम्पानीमा अण्डा किन्थ्यो र प्लाष्टिक भित्र पोको पारेर ट्रयाक्टरको अगाडिको पानी हाल्ने ठाउँमा राखिदिन्थ्यो । ट्रयाक्टरको अगाडि पट्टि इन्जीन हुन्थ्यो । त्यही इन्जीनलाई बढी तातो नहोस् भनेर इन्जीनकै माथि पट्टी चारपाटे ट्याङ्की हुन्थ्यो । ठूलो चारपाटे कित्ली जस्तै । लामो समय गुडेपछि पानी उम्लिरहन्थ्यो । ट्रयाक्टरको थुथुनो बाहिर बाटै पनि छुन खोज्यो भने हातमा मजाले पोल्थ्यो कहिलेकाहीँ त डाम्थ्यो पनि । ट्याङिकीको घाँटिमा फिल्टर हुन्थ्यो । शायद पानीबाहेक पात पतिङ्हरहरू नछिरुन् भनेर । त्यही घाँटीमाथि बाहिर आउँकि नहाउँ झै गरेर उम्लिरहेको पानीमा बीसमिनेट जती उमालेपछि तयार हुन्थ्यो । ब्वइल्ड एग । यसरी अण्डा खाना पल्किएपछि अण्डा निकै मन पर्न थाल्यो ।

नौ कक्षामै पढ्दा एक दिन बिहान दिदीले खरबारीमा घाँस काट्न जाँदा कालिजका चारवटा अण्डा भेट्टाइछ । त्यतीन्जेलसम्म दिदीलाई मैले अण्डा खान्छु भन्ने थाहा थिएन । तर, घरको ब्लक फेक्ट्रिमा कामगर्ने दाइहरूले खालान्, भनेर ल्याइछ । दिदीले कित्लीमा अण्डा उमाली । कामगर्ने मध्येका एक जना थिए, लल्कु दाई । सप्तरीका । उनले् मेरै अगाडि उत्साहित भएर अण्डालाई पिँढीको धारमा ट्वाक्क ठोके र छेउबाट फुटाले । भित्र मलाई मनपर्ने अण्डाको सेतो र पहेँलो भाग थिएनन्, बरु कालिजको निकै सानो बच्चो थियो । म रन्थनिएँ । दिदी पनि एकछिन् अँध्यारी भई । लल्कुदाइ पनि अण्डालाई प्लेटमै छोडेर कामतिर लागे । आफ्नै भाषामा केही भट्भटाउँदै गए । मैले बुझिन । तर उनीलाई पनि नरमाइलो लागेको बुझेँ । त्यसपछि मैले थुप्रै बर्ष अण्डा खाइन । सिड्नी नआइन्जेलसम्म ।

झुक्किएर केहीपटक मेरो मुखमा मासु परेको थियो । पकौडा जस्तो मिट बल र मःम को स्वरुपमा । मासु नै त कसरी खान सक्लान है मान्छेहरूले । मनमा लागिरहन्थ्यो । मासु भातसँग मुछेर यसरी मानीसहरूले स्वाद लिइ लिइ खाइरहेको दृश्य कसरी वास्तविक होला ? कसरी खानसकेका भातसँग मासु ? दंग पर्थें । २००७ मा अष्ट्रेलिया आएँ । मेरो रुममेट सन्तोषलाई कुखुराको मासु निकै मन पर्थ्यो । तरकारी र मासुको मुल्य बराबर थियो । कुखुराको मासु त अझै सस्तो । मासु मन पर्नेहरूलाई यता दशैँ कुर्नु परेन । मलाई यो कुराले सकस हुन लाग्यो । शुरुशुरुमा बाहिर फास्टफुडमा धेरै पैसा खर्च गर्न अन्कनाइन्थ्यो । थकथक लाग्थ्यो । एक डलर भनेको हाम्रा लागि एक डलर हुन्थेन । त्यतीबेला ६० रुपियाँ हुन्थ्यो । केरा दर्जनमा होइन, किलोमा पाइन्थ्यो । म ब्रिसवेन आएको बर्ष केरा एक किलोको १३ डलर थियो । त्यो बर्ष क्विन्सल्याण्डमा बाढी आएको रहेछ । एक किलोमा जम्मा ४ वटा केरा चढ्ने । एउटा केरालाई नेपाली ३ सय भन्दा बढी । सबैले यसरीनै कन्भर्ट गथेँ । पैसाको महत्व पनि शायद त्यतीनै बेला बढी भएको हो । मेहिनेत र पैसा भनेको के हो, छर्लङ थियो । एकदिन कामबाट थाकेर फोर्टिच्युड भ्यालीको कोठाभित्र छिरेँ । सन्तोषले कुखुरानै बनाएको रहेछ । भोकले भाउन्निएको थिएँ । स्टेशनको नजिकैको म्याकडोलल्ड तिर लागेँ । चिकेन बर्गर, ह्याम बर्गर, विफ बर्गर को कुनामा मेरो भोक मेट्ने ‘चिज बर्गर’ लेखेको देखेँ । मलाई चिज निकै मन पर्थ्यो । पाउरोटी र चीजको कल्पना गर्दा भोकको पारो झन् चढ्यो । पैसा पनि निकै सस्तो । मात्र २ डलर । त्यतीमा अरु कुनै बर्गर थिएन । बर्गर अर्डर गरेर कुर्चिमा बसेँ । बर्गर आयो । मैले बर्गर भित्र के छ भन्ने नहेरिकनै बर्गर टोक्न थालेँ । चिज खाँदै जाादा अलि फरक स्वादको हुँदो रहेछ जस्तो लाग्यो । भोक यसरी लागेको थियो कि बर्गर लगभग सकिने बेलामा बल्ल बर्गरको गन्ध अलि फरक जस्तो लाग्यो । अलि बल्ल अडिएँ । बाँकि टुक्रालाई ओल्टाइ पल्टाइ हेरेँ । चिज त रैछ तर पातलो स्लाइसमात्र । चीजसँगसँगै अर्को पत्र पालतो र चाक्लो पकौडाजस्तो देखिने केही थियो । अब भने मनमा चिसो पस्यो । काउन्टरमा सोधि हालेँ । एक टुक्रा बाँकि रहेपछि मात्र, यो के हो भनेर सोध्ने म जस्तो भोकमरीलाई काउन्टरकी केटीले चाहिने जस्तै गरी नाक उचाली । काउन्टरमा बसेकी एउटी राम्री अष्ट्रेलियन किशोरीले । नाक उचालेपनि राम्रै थिइ । मुखै विगारेर भनी ।

“इट्स बिफ” !


मोरी ले मेरो मनै विगारी । भाउन्नियो मन । काउन्टरको स्टाफका लागि यो कुनै क्लाइमेक्स सिन जस्तो लागेन । सहजै भनिदिई । मेरा लागि भने, डड्याङ डुडुङ ब्याकग्राउण्ड म्युजिक चाहिने खालको सिन भइदियो । जुरुक्क उठेँ । बाँकि टुक्रा बर्गर बिनमा फालेँ । भ्यालीको मलको बीचको बाटोमा, थिच्दा पिउन पिल्ने भुल्भुले पानीको धारो थियो । गएर पानी पिएँ । घाँटिमा त अलिकति सितलो भयो । तर, अन्त जताजतै उकुस—मुकुस भयो ।

अब त कसरी स्वर्ग जाम्ला र ?
तै पनि झुक्किएर पुगिहालेँ भने, मेरो कथा सुन्दा, हजुरबाले सोध्नुहोला ।

‘यो बिफ भनेको के हो र कान्छा ?’

म भनम्ला, ‘गौमाता’ को मासु ।

 

Comments

You may like this